१६ साउन २०७९,
काठमाडौं ।
काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारको चार जना मृत भेटिएको घटना हत्यापछि आत्महत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
सोमबार तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिक मृत भेटिएका थिए ।
सैनिक स्कुलमा कक्षा ५ मा अध्ययनरत आशिका सोमबार विहान स्कुल जान बस चढ्न नआएपछि छिमेकीले सोधीखोजी सुरु गरेका थिए । घरमा बोलाउँदा कोही नबोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले ढोका फोडेर हेर्दा चारै जना मृत भेटिएका थिए ।
प्रहरीले मृतक चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दिनेशले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनास्थलको अवस्था, ‘सुसाइड नोट’ लगायतले हत्या पछि आत्महत्या भएको प्रहरीको अनुमान छ ।
गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङको यो परिवार केही वर्षदेखि यहाँ घर बनाएर बस्दै आएको थियो । दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि फर्किएका उनका आफन्तको भनाइ छ । तर सुनिता र दिनेशबीचको सम्बन्धमा भने उतारचढाव रहेको उनीहरु बताउँछन् ।
उनीहरुको झगडाकै कारण प्रहरीको वालाजु वृत्तले तीन पटकसम्म दुबैलाई बोलाएर छलफल गराएको थियो, तैपनि उनीहरुबीच पारिवारिक मेल हुन सकेन ।