१६ साउन
काठमाडौं ।
नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको मूल्य घटेर आएको छ । आईओसीबाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । खाना पकाउने एलपीजी ग्याँसको प्रतिसिलिण्डर मूल्य ७८ रुपैयाँ घटेर आएको छ ।
अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । यो सँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । अहिलेको मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ नाफा रहने छ भने डिजेलमा ९ रुपैयाँ ५० पैसा अझै घाटा छ । यस्तै एलपीजीमा ५ सय रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको निगमको दाबी छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ । यो भाउ अझै घट्ने अनुमान छ ।