२४ असार २०७९
गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान आबेमाथि गोली प्रहार भएको थियो ।
जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गोलीकाण्ड हुने गर्छन् । भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि सडकमै ढलेका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।
स्थानीय समयानुसार बिहान साढे ११ बजे आबेमाथि गोली प्रहार भएको थियो। गोली प्रहारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेका छ।
आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। सो चुनावी अभियानमा उनी भाषण गरिरहेका थिए ।
प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्रीमा रहेका थिए ।