२१ असार २०७९
रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका १ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।
उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएका ४ जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।
सुनापति गाउँपालिका बेथानबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज लुभुघाटमा दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा २६ जना घाइते भएका थिए। दुर्घटनाका गम्भीर घाइते तीन जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं र २३ जनालाई धुलिखेल अस्पताल काभ्रे पठाइएको थियो।
दुर्घटनामा परी सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीका ६० वर्षीय ठुला तामाङ, ३६ वर्षीय खड्क बहादुर विक, २२ वर्षीया बिपना तामाङ, ३६ वर्षीया सञ्जु तामाङ, सुनापति गाउँपालिका ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, बुद्ध तामाङ, सुनापति गाउँपालिका वडा नम्बर ४ का २६ वर्षीया सम्रिता तामाङ र सुनापति गाउँपालिकाकै नेमा तामाङको मृत्यु भएको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।
त्यसैगरी काभ्रेको पाँचखाल ८ का १८ वर्षीय सुदिप गजमेर, काभ्रेको मण्डनदेउपुर नगरपालिका ९ का ६० वर्षीया शुभलक्ष्मी मानन्धर, काभ्रेको पाँचखालका ४० वर्षीय कुलबहादुर बिक र काभ्रे रोशी गाउँपालिका ४ का कमल तामाङको सनाखत भएको छ। प्रहरीका अनुसार धुलिखेल अस्पतालमा मृत्यु भएको एक जनाको सनाखत हुन बाँकी छ।
बस ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ।