१४ असार २०७९
काठमाडौं ।
नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान” नामक नयाँ पार्टीको घोषणा भएको छ।
मङ्गलवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान दल घोषणा गरेका हुन् । दलको संयोजकमा स्वयम् वामदेव गौतम छन् भने सचिवमा डीबी कार्की छन् ।
देशका कम्युनिष्ट पार्टीको एकता गर्ने मुख्य उद्देश्यसहित पार्टी घोषणा गरेको गौतमको भनाइ छ । उनको नेकपा एकता राष्ट्रिय अभियान दलमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि एकीकरण भएका छन् ।
गएको स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्ति भएको र अब पनि कम्युनिष्ट पार्टीहरुले कार्यगत एकता गर्न नसके आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसले बहुमत प्राप्त गर्ने गौतमले बताए । त्यसपछि कांग्रेसलाई गठबन्धनको आवश्यकता नपर्ने भन्दै उनले त्यसका लागि अहिलेको स्थिति परिवर्तन हुनुपर्ने प्रष्ट पारे ।
वामदेवले नयाँ पार्टीमा श्रीमती तुलसा थापा र छोरा हरिसदेव गौतमलाई पनि केन्द्रीय सदस्य राखेका छन् । तुलसा थापा अहिले पनि नेकपा एमालेको तर्फबाट सांसद छिन् ।