६ असार २०७९
काठमाडौं ।
सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी नहुने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा सहभागी नहुनका लागि अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
एसपीपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त भइरहँदा सरकारले पत्र लेख्ने निर्णय गरेको हो ।
नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोध सन् २०१९ मा स्वीकार भएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो ।