६ असार २०७९
काठमाडौं ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्यासमा छिट्टै दुईथरी मूल्य तोक्ने बताएका छन् ।
इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक थानीले आयल निगमले छिट्टै ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने बताएका हुन् ।
कार्यकारी निर्देशक थानीले औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ फरक बनाउने बताए ।
उनले ग्यासमा दोहोरो मूल्य कायम गर्नका लागि गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको नेतृत्वमा विज्ञ सदस्य सहितको समितिले अध्ययन गरिरहेको जानकारी समेत दिए ।
थानीले अहिले पनि निगम मासिक ४ अर्ब रुपैयाँ घाटामा गइरहेको बताए । उनले अब आइओसीसँग खरिद गरेको मूल्यमा कर थप गरी आउने लागत मूल्यमै इन्धन बिक्री गरिने बताए ।
कार्यकारी निर्देशक थानीका अनुसार पेट्रोल अहिले पनि प्रतिलिटर १३.५८ रुपैयाँ, डिजलमा १३.९५ रुपैयाँ र ग्यासमा प्रतिसिलिण्डर ७१५ रुपैयाँ घाटा रहेको छ । २०७१ साल देखि नै खरिद मूल्यमा बिक्री गर्न पाएको भए यति ठूलो घाटा नहुने अवस्था रहेको उनको भनाई थियो ।
आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको थानीको दाबी छ । थानीले चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर रहेकोमा वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको तर जेठमा घटेर ५९ हजार किलोलिटरमा झरेको बताए ।