१३ जेठ २०७९
दाङ ।
कुटपिटको आरोपमा दाङको तुलसीपुरबाट पक्राउ परेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराही लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा प्रक्रिया अघि बढाउने गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । आज विहान विमलाले तुलसीपुर नगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
विमला एकराजको घरमा सुरक्षागार्डसहित झण्डावाल गाडीमा पुगेकी थिइन । विमलालाई प्रहरीले इलाका प्रहरी कार्यालयबाट बाहिर निकाल्दा पीडितका आफन्तले कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए ।