२५ जेठ २०७९
नमोबुद्ध ।
नर्वेली विदेश मन्त्रालयका उपमन्त्री बियोर्ग सान्कयोरले नमोबुद्ध नगरपालिकाको भ्रमण गर्दै महिलामैत्री असल कृषि अभ्यासको प्रशंसा गरेकी छन् ।
बुधबार नमोबुद्ध नगरपालिका वडा नं. २ स्थित कुइँकेल थुम्कामा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रमअन्तर्गत सञ्चालित महिलामैत्री असल कृषि अभ्यासको अबलोकन गर्दै उनले यसको प्रशंसा गरेकी हुन् ।
नर्वेली राजदूतावासले नमोबुद्ध नगरपालिका, इसिमोड र सिप्रेडसँगको सहयोग समन्वय र सहकार्यमा ६ वटा वडामा जलवायु अनुकुलन समाधान कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमको स्थलगत अवलोकन गर्दै उपमन्त्री सान्कयोरले अर्गानिक कृषि प्रणालीबाट आफू एकदमै प्रभावित भएको बताइन् । अर्गानिक कृषिका साथै महिलामैत्री थुवारहित चुल्हो, वायोग्यासको प्रयोग लगायतका कार्यबाट पनि आफू प्रभावित भएको भन्दै उनले नेपालस्थित नर्वेजियन राजदूताबासबाट निरन्तर समन्वय र सहयोग हुने प्रतिवद्धता पनि जनाइन् ।
जलवायु अनुकुलुन तरकारी खेती कार्यक्रमअन्तर्गत कुइँकेलथुम्कामा ताजा तरकारी उत्पादन भइरहेको छ । यसले स्थानीयबासीको आर्थिक अवस्थामा पनि सुधार भएको छ । उक्त कार्यक्रमअन्तर्गत थोपा सिञ्चाई, छापो प्रविधि, पोखरी निर्माण, जैविक बिषादी र मोहनी पासोमार्फत किरा नियन्त्रण लगायतका काम भइरहेको छ ।
नर्वेली उपमन्त्री, नेपालका लागि नर्वेली राजदूत तोरुन ड्राम्दाल, इसिमोडका महानिर्देशक पेमा ग्याम्सो लगायतले उक्त स्थानमा भइरहेको अर्गानिक कृषि कार्यक्रमको अबलोकन गर्नुका साथै यो कार्यक्रममा आवद्ध किसानहरुसँग अन्तरक्रियासमेत गरेका थिए । अन्तरक्रियाको क्रममा किसानहरुले विगतमा सिञ्चाईको अभावमा खेती गर्न नसकिएको तर अहिले जलवायु अनुकुलन कार्यक्रम आएपछि कृषिबाटै आत्मनिर्भर बन्दै गइरहेको बताए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले कृषिबाट महिलाहरूको आर्थिक उत्थान गर्न सकिने भन्दै त्यसका लागि निरन्तर सहयोग गर्न नर्वेली सरकारलाई आग्रह गरे । नमोबुद्ध नगरपालिकाले अर्गानिक कृषिको विकासका लागि गर्नुपर्ने आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता पनि उनले जनाए । नमोबुद्ध नगरपालिकाको भ्रमणका लागि उनले नर्वेली उपमन्त्री, राजदूत लगायतप्रति आभार पनि प्रकट गरेका थिए ।
यस्तै इसिमोडका महानिर्देशक पेमा ग्याम्सोले नमोबुद्ध नगरपालिकामा सञ्चालित यो कार्यक्रमबाट धेरै किसान लाभान्वित भएको भन्दै यसको प्रभावकारिताबाट आफू खुशी भएको बताए ।
अवलोकन टोलीमा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्न बहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, नर्वेली दूतावासका सल्लाहकार कमला बिष्ट, सिप्रेडका कार्यकारी निर्देशक केशवदत्त जोशी, इसिमोडबाट शेखर घिमिरे, नन्दकिशोर अग्रवाल, इरिका उदास, नमोबुद्ध नगरपालिका वडा नं. २ का अध्यक्ष कविराज श्रेष्ठ, वडा नं.३ का अध्यक्ष रमेश तिवारी, नमोबुद्ध नगरपालिकाका शिक्षा शाखाका अधिकृत बुद्धिराज अर्याल, वातावरण अधिकृत सन्तोष काफ्ले, कृषि तथा पशुसेवा शाखा प्रमुख चिरञ्जिवी शर्मा, पूर्व वडाअध्यक्ष सञ्जीव ढकाल विभिन्न व्यक्तित्वहरु सहभागी थिए ।
यसैबीच, नर्वेली विदेश मन्त्रालयका उपमन्त्री बियोर्ग सान्कयोरले नमोबुद्ध नगरपालिका २ स्थित जनकल्याण माविका विद्यार्थीसँग अन्तरक्रिया पनि गरेकी छन् । उक्त विद्यालयको भ्रमण गर्दै उनले विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै कोभिड १९ को महामारीले पारेको प्रभावका बारेमा जिज्ञासा राखेकी थिइन् । टोलीले विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरुसँग पनि छलफल गरेको थियो ।