२२ जेठ २०७९
काठमाडौं ।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ । पार्टीको आज बसेको सचिवालयको बैठकले अहिले सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।
पार्टीले वर्तमान स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरेको छ । त्यस्तै जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि सिफारिस गरेको छ । हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरेको छ ।
समाजवादीले वर्तमान पर्यटन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य मन्त्री विरोध खतिवडा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई भने फिर्ता बोलाएको छ ।
पार्टीले यसअघि नै पार्टीको तर्फबाट मन्त्री भएकाहरूलाई ६ महिनापछि फिर्ता गर्ने निर्णय गरिसकेको र ६ महिनाभन्दा लामो समय उनीहरू मन्त्री भइसकेकाले फिर्ता बोलाउन लागिएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।