२२ जेठ २०७९
काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन् ।
राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्व वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको भनिएको छ।
प्रकृतिको स्वाभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको सन्देशमा उल्लेख गरिएको छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गइ जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गरेका छन् ।
उनले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवम् प्रभाव बढेको बताएका छन् ।
यसले समग्र विश्व नै ठूलो वातावरणीय सङ्कटबाट गुज्रिरहेको बताउँदै प्रधानमन्त्री देउवाले यसको असरबाट नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश र गरिब तथा सीमान्तकृत समुदाय बढीमात्रामा प्रभावित भइरहेका उल्लेख गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइरहेको छ । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ ।