२० जेठ २०७९
काठमाडौं ।
टर्कीको नाम अब टर्किए (Turkiye) भएको छ । संयुक्त राष्ट्रसंघले टर्कीले गरेको नाम परिवर्तनको अनुरोध स्वीकार गरेपछि नाम परिर्वतन भएको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकका अनुसार टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त भएपछि तुरुन्तै यो निर्णय भएको हो ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको गत वर्ष रिब्रान्डिङ अभियान अन्तर्गत धेरै अन्तर्राष्ट्रिय संस्थाहरूलाई देशको नाम परिवर्तन गर्न आग्रह गरेका थिए ।
टर्कीले नाम परिवर्तन गर्नुको पनि विभिन्न कारण रहेको छ । गुगलमा टर्की खोज्दा ल्याटिन अमेरिकाको पंक्षी टर्की भेटिन्छ । क्याम्ब्रिजको अंग्रेजी शब्दकोश अनुसार टर्कीको अर्थ मूर्ख वा पराजित हो।
त्यसैले टर्कीले देशलाई अंग्रेजी नामबाट नभइ स्थानीय नामबाट नै चिनाउनका लागि राष्ट्र संघमा नाम परिवर्तनको प्रस्ताव राखेको थियो । यसअघि नै टर्कीका विभिन्न संघ संस्थाले आफ्नो नाममा टर्किये प्रयोग गर्न थालेका छन् ।