१७ जेठ २०७९
काठमाडौं ।
तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकामध्ये बाँकी १२ जनाको शव पनि काठमाडौं ल्याइएको छ। सोमवार १० जनाको शव काठमाडौं ल्याइएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रसँगको समन्वयमा दुर्घटनास्थलबाट सोमवार १० जनाको शव आधार शिविरमा ल्याई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। प्रतिकूल मौसमका कारण सोमवार ल्याउन नसकिएका शवहरु सेनाकै हेलिकोप्टरबाट मंगलवार ल्याइएको हो।
काठमाडौं ल्याएका शवहरू त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शवलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तारा एयरको विमान दुर्घटना हुँदा विमानमा सवार २२ जनाको मृत्यु भएको थियो।
विमान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भिरमा १४ हजार ५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।