६ जेठ २०७९
काभ्रे ।
धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोककुमार व्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । व्याञ्जुले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९४० मत अन्तरले पराजित गरेका हुन् । व्याञ्जुले ८ हजार ३ सय ५१ मत ल्याउँदा बस्नेतले ७ हजार ४ सय ११ मत ल्याए ।
व्याञ्जुको जितसँगै एमालेले काभ्रेमा पहिलो पालिका जितेको हो । व्याञ्जु एमालेका काभ्रे अध्यक्ष एवं नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।
गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका दया सागर श्रेष्ठले भने १ हजार ८१९ मतमा सीमित भए ।
उपमेयरमा भने नेपाली कांग्रेसका निराजन जंगम विजयी भएका छन् । उनले १ सय ४७ मत अन्तरले निकटतम प्रतिस्पर्धी एमालेकी लालतारा अधिकारीलाई पराजित गरेका हुन् । जंगमले ७ हजार ९ सय ३८ मत ल्याउँदा अधिकारीले ७ हजार ७ सय ९१ मत प्राप्त गरिन् ।