५ जेठ २०७९
काभ्रे ।
एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइबा विजयी भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल विजयी भए । प्रमुखमा एकीकृत समाजवादीका वाइबाले ९ हजार ४ सय ६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका विदुर सापकोटाले ८ हजार ३ सय ५१ मत ल्याएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका नेपालले ११ हजार ३ सय ५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका सरिता ढकालले ६ हजार ९ सय २४ मत ल्याएकी छिन् ।
मण्डनदेउपुरको १२ वडा मध्ये नेपाली कांग्रेसले ७, नेकपा एमालेले ४ र माओवादी केन्द्रले १ वडामा जित हासिल गरेको छ । नगरपालिकाको वडा २, ३, ६, ९, १०, ११ र १२ मा नेपाली कांग्रेस, वडा नम्बर १, ४, ५ र ७ मा एमाले र वडा ८ मा माओवादीले बाजी मारेको हो ।