५ जेठ २०७९
काभ्रे ।
काभ्रेको चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणुका चौलागाईं निर्वाचित भएकी छिन् । निकटतम प्रतिस्पर्धी एमालेका जितराम लामालाई ७ सय ६५ मतले पछि पार्दै चौलागाईं अध्यक्षमा निर्वाचित भएकी हुन् ।
रेणुकाले ६ हजार २ सय २८ मत प्राप्त गरिन् भने एमालेका लामाले ५ हजार ४ सय ६३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा सत्ता गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका शेरबहादुर लामा विजयी भएका छन् । लामाले ७ हजार २ सय १९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेकी बबिता खरेल (गौतम) ले ३ हजार ५ सय ४९ मत प्राप्त गरिन् ।
अध्यक्षमा निर्वाचित चौलागाईं २०६४ सालमा समानुपातिकतर्फ संविधानसभा सदस्य थिइन् । उनी काभ्रे जिल्लाकै पहिलो महिला पालिका अध्यक्ष बनेकी हुन् ।
चौरीदेउरालीका ९ वडामध्ये माओवादीले वडा नं ३, ४, ५, ८, ९, कांग्रेसले वडा नं १, ६ र ७ र एमालेले वडा नं २ मा जित हासिल गरेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि चौरीदेउराली गाउँपालिका माओवादीलेनै जितेको थियो ।