२५ बैशाख २०७९
काठमाडौं ।
स्थानीय तह निर्वाचन २०७९ मा तीन गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् ।
३५ हजार २ सय २१ जनप्रतिनिधि छान्नका लागि वैशाख ३० गते चुनाव हुँदैछ । तर गएको ११ र १२ मा परेको उम्मेदवारीका आधारमा निर्वाचन आयोगले तीन अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएको विवरण सार्वजनिक गरेको छ ।
पालिका चुनावका लागि कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको थियो । आयोगका अनुसार एमालेका १३८, कांग्रेसका ११५, माओवादीका ५९, एकीकृत समाजवादीका ३५, नेमकिपाका २, राप्रपाका २, जसपाका १, लोसपाका १, राष्ट्रिय जनमुक्ति पार्टीका १, नेकपा माओवादी समाजवादीका १ र स्वतन्त्र ३५ जना निर्विरोध निर्वाचित भएका छन् ।
पालिका अध्यक्ष ३ जना, उपाध्यक्ष ४ जना, वडाध्यक्ष ४८ जना, दलित महिला सदस्य १६४ जना, महिला सदस्य ७१ जना र खुला सदस्य १ सय जना निर्विरोध भएका हुन् । आयोगका अनुसार डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अङ्गदकुमार राना, छार्का ताङसोङ गाउँपालिका अध्यक्षमा समाजवादीकै सेनाङ गुरुङ र शे–फोक्सुन्डो गाउँपालिकामा एमालेका धावा सम्डुक गुरुङ निर्वाचित भएका हुन् ।