२३ बैशाख २०७९
पनौती, काभ्रे ।
नेकपा एमालेको प्रभाव क्षेत्र रहेको काभ्रेको पनौती नगरमा नेपाली कांग्रेसको पक्षमा जनलहर उर्लिन थालेको छ । जनताको विश्वासलाई कहिल्यै कुठाराघात नगर्ने भन्दै नेपाली कांग्रेसले मत मागिरहेको छ ।
नेपाली कांग्रेसले टोलटोलमा गरेको घरदैलो कार्यक्रममा मतदाताहरुको सहभागिताले हेर्दा वैशाख ३० गते हुन गइरहेको निर्वाचनले एमालेको गढ भत्कने निश्चित जस्तो देखिएको छ । शुक्रवार विहान पनौती नगरपालिका वडा नम्बर १२ को मगर गाँउमा कांग्रेसका उम्मेदवारहरुलाई स्थानीयबासीले भव्य स्वागत गरेका छन् ।
प्राकृतिक स्रोत साधनले भरिपुर्ण पनौती नगरपालिकाको वडा १२ मा पाँच वर्षको अवधिमा करिब दुई अर्ब अर्म्दानी भएको थियो । वडाले नगरको आम्दानीमा ठूलै योगदान गरेपनि वडाको विकास भने २५ वर्ष अघिकै अवस्थामा छ । २५ वर्ष भन्दा बढि एमालेको नेतृत्वमा रहेको वडा १२ को अवस्था जहाँको त्यही छ ।
शुक्रबारको घरदैलो कार्यक्रममा बोल्दै कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामशरण भण्डारीले आउँदो निर्वाचनमा विजयी भए यहाँबाट जाने राजश्वको निश्चित प्रतिशत यहीँ वडाको विकासको लागि खर्च गर्ने घोषणा गरेका छन् । स्वास्थ्य शिक्षा र कृषिमा विशेष ध्यान दिने बताउँदै उनले पनौतीको वडा नं १२ मा बौद्ध शिक्षाको शुरुवात गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । पनौती नगरमा प्रजातन्त्र आएको छैन, अर्थिक अनुशासन छैन भण्डारीले भने –पनौतीमा मेरै नेतृत्वमा सुशासन आउँछ । विश्वास गर्नुहोस तपाईंहरुलाई म कहिल्यै धोका दिन्न ।
पनौतीको मगर गाउँका साथै कलाँती, चिण्डु, सिमपानी गाउँ र रोशी बजारमा पनि काग्रेसको पक्षमा राम्रो जनमत रहको छ ।
घरदैलो कार्यक्रमका लागि कांग्रेस काभ्रेका जिल्ला सभापति तिर्थ लामा, कोषाध्यक्ष जगन्नाथ गिरी, गठबन्धन तर्फका उपप्रमुख छवी हुमागाई, वडा अध्यक्षका उम्मेदवार बलराम तामाङ्ग, सदस्यहरु ओम लामा, सरिता खत्री, चमेली विक, कारसाङ लामा सहित मगरगाँउ पुगेका मेयरका उम्मेदवार भण्डारीलाई स्वागत गर्न दुई सय भन्दा बढी स्थानीयको उपस्थिति रहेको थियो ।