२१ बैशाख २०७९
काठमाडौं ।
राष्ट्रिय मानव अधिकार आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्ने भएको छ । बुधवार आयोगले पत्रकार भेटघाटका क्रममा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुमा स्थलगत अनुगमन गर्ने बताएको हो ।
आयोगका अध्यक्ष तपबहादुर मगरले स्थानीय तहको निर्वाचन अवधिमा आयोगले ४७ वटा अनुगमन टोली परिचालन गरी स्थलगत अनुगमन गर्ने बताए । उनले आयोगका अध्यक्ष तथा सदस्यहरुको नेतृत्वमा सातवटै प्रदेशहरूमा निर्वाचन पूर्व पनि अनुगमन हुने उल्लेख गरे ।
आयोगका सदस्य सूर्य ढुंगेल मधेस प्रदेश, सदस्य मिहिर ठाकुर गण्डकी प्रदेश, सदस्य मनोज दुवाडी सुदूरपश्चिम प्रदेश र सदस्य लिली थापा नेतृत्वको टोली प्रदेश नम्बर १ को अनुगमनमा जाने कार्यक्रम छ । अघि उम्मेदवारी दर्ताका दिन वैशाख ११ र १२ गते पनि आयोगले ३० वटा जिल्लामा पुगेर अनुगमन गरेको थियो ।
आयोगले अनुगमनमा ज्येष्ठ नागरिक, किरियापुत्री, गर्भवती आदिको सहज पहुँच भए नभएको, मतदान केन्द्रको उपयुक्त, मतदान केन्द्रको सुरक्षा प्रबन्ध, सुरक्षाकर्मी परिचालन तथा व्यवस्थापन, मतदाता शिक्षा, निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग, आचारसंहिताको पालना, निर्वाचन प्रचारप्रसारको क्रममा हुनसक्ने हिंसात्मक गतिविधि भए नभएको अनुगमन गर्नेछ ।
निर्वाचनको निष्पक्षता, मतदानको गोपनीयता, महिलाको सहभागिता, सुरक्षाकर्मी र मतदानमा खटिने कर्मचारीको खानपान र बसोबासको प्रबन्ध, मतगणनास्थलको सुरक्षा प्रबन्ध, मतगणनासम्बन्धी सूचना विधिको प्रयोगको अवस्था, मतगणनास्थलमा सुरक्षाकर्मी र पर्यवेक्षण गर्ने संस्थाको उपस्थिति, विजय जुलुस शान्तिपूर्ण भए नभएको, अन्य दलको विरोध वा अवरोध भए नभएको अवस्थाजस्ता विषयमा मानवअधिकारको संरक्षण र सम्वद्र्धनको कोणबाट अनुगमन हुनेछ ।
आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।