Google search engine

पनौती र नमोबुद्धलाई विश्वसम्पदामा सूचीकरणका लागि पहल

५ बैशाख २०७९
रासस
काभ्रे ।
आज अप्रिल १८ अर्थात् विश्वसम्पदा दिवस । नेपालमा पनि सो दिवस मनाउने गरिन्छ । विश्वसम्पदाको संरक्षण तथा सम्बद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस हरेक वर्ष आजका दिनमा मनाइने गरिन्छ ।

प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरणलगायत क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी सङ्घ–संस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिन्छ । दिवसको मूल लक्ष्य स्थानीय सांस्कृतिक, सामाजिक, खेलकुद तथा पर्यटनसँग सम्बन्धित कार्यक्रमको प्रवद्र्धन गर्नु हो ।

काभ्रेपलाञ्चोकमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्वसम्पदा दिवस मनाइएको छ । काभ्रे उद्योग वाणिज्य सङ्घ, काभ्रे युवा उद्यमी मञ्चलगायत संस्थाले बनेपा तथा पनौतीका ऐतिहासिक स्थलमा पदयात्रा तथा बाजागाजासहित विश्वसम्पदा दिवस मनाएका हुन् । पदयात्रामा सम्पदाको ऐतिहासिकताको संरक्षण एवं प्रबद्र्वनमा जोड दिन आग्रह गरिएको थियो ।

विश्वभर रहेका प्राचीन सम्पदाको पहिचान गरी त्यसलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन ९युनेस्को०ले आफूले निर्धारण गरेको मापदण्ड पूरा भएपछि विश्वसम्पदाको सूचीमा राख्ने गर्छ । यसैको सूचीमा सूचीकृत हुन काभ्रेपलाञ्चोकको पनौती लामो समयदेखि प्रक्रियामा छ भने ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धले पनि केही महिनादेखि प्रक्रिया थालेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई विश्वसम्पदा सूचीमा राख्न २६ वर्षदेखि प्रक्रिया थालिएको विवरणले देखाएका छन् । प्रक्रिया करिब सकेर अन्तिम चरणमा रहेको पनौती विश्वसम्पदामा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णयको पर्खाइमा छ ।

सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया सकेर एक वर्षअघि नै मन्त्रिपरिषद्मा ‘फाइल’ पठाइएको नगरपालिकाले जनाएको छ । पनौती नगरपालिका ७ वडा क्षेत्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा करिब साढे दुई दशकअघि प्रस्ताव गरिएको क्षेत्र हो । सूचीकरणको अन्तिम प्रक्रियाका लागि सङ्घीय मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको नगर प्रमुख भीम न्यौपानेले बताए। “सम्पूर्ण काम सकेर मन्त्रिपरिषद्मा दस्तावेज बुझाइएको छ, बैठकको निर्णयलगत्तै पनौतीलाई युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने छ”, उनले विश्वास व्यक्त गरे । उनका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि त्यसका आधारमा युनेस्कोले पनौतीलाई विश्वसम्पदामा सूचीकृत गर्नेछ ।

सङ्घीय मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्वसम्पदामा सूचीकृत हुने युनेस्कोको नेपालस्थित कार्यालयले समेत जनाएको छ । पनौती नगरलाई विश्वसम्पदामा सूचीकृत गर्ने कार्य दुई वर्षअघि बढाइएपछि युनेस्कोका नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विकलगायत सम्पदाको अवलोकन गरेका थिए । अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्वसम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले आवश्यक बजेट छुट्याएर प्रक्रिया अघि बढाएको न्यौपानेले बताए ।

देशमा राजनीतिक उतारचढाव, सरकार परिवर्तन, कोरोना सङ्क्रमणले पारेको प्रतिकूल प्रभावका कारण एक वर्षदेखि मन्त्रिपरिषद्मा पनौतीको विषयले प्राथमिकता नपाउँदा विश्वसम्पदामा सूचीकृत हुन नपाएको बताइन्छ । “हामी बाह्रवर्षे मकर–मेला अर्थात् यही माघअघि विश्वसम्पदा सूचीमा सूचीकृत हुने अपेक्षामा थियौँ, विविध कारणले रोकिएको छ”, न्यौपानेले भने । उनले मन्त्रिपरिषद्को कार्यसूचीमा प्राथमिकतामा नपरेको कारण प्रक्रिया लम्बिनसक्ने बताए ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयपछि युनेस्कोको फ्रान्सको पुरातत्त्वविज्ञ टोलीले पुनः पनौतीको अनुगमन निरीक्षण गर्नेछ । सूचीकरणको यस प्रक्रियामा पनौतीमा ७२ मौलिक नेपाली घर निर्माणको कामसमेत धमाधम भइरहेको छ । नगरद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, घरबास पर्यटन सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकिएको छ ।

सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्ने पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्वसम्पदा क्षेत्र’ भनिने छ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने क्षेत्र जस्तै वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर आदि धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्छ, जुन विश्वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । समितिले नै सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुने नीति छ ।

युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्वसम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता जनप्रतिनिधि तथा सरोकार पक्षको बेवास्ताले सूचीकरणको काम अन्योलमा रहँदै आएको हो । पुरातत्त्व विभागद्वारा पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ । पनौती– ५, ६ र ७ मा एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर र पाटीपौवा छन् । फ्रान्स सरकारका सहयोगमा २०४८ देखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो ।

पुरातत्त्व विभागका अनुसार नेपालका चार क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ जसमा काठमाडौँ उपत्यका ९उपत्यकाका सात क्षेत्र काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर०, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज छन् ।

सङ्घीय सरकारले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ ।

राजा प्रताप मल्लले विसं १७२५ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जलराख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्त रुपमा बहिरहेको मान्यता छ । वासुकिनागको कथा पनि जोडिएको पनौतीमा नेपालमा कतै नभएको इन्द्रेश्वर महादेव र गोरखनाथ मन्दिर आदि छन् । यस क्षेत्रमा भूकम्प जाँदैन भन्ने विश्वास पनि छ ।

त्यसो त पनौती नगरको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पुरानो शैलीका घर बनाइँदैछ । नगर कार्यालयले पुरानो शैलीका घर बनाउने स्थानीयवासीलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग पनि गरेको छ । नगरको सहयोगका लागि वडा नं ७ का बासिन्दाले पुरातत्त्व विभागले दिएको मापदण्डानुसारको निजी आवास बनाउनुपर्ने हुन्छ । नगरले सो कार्यक्रमअन्तर्गत ११ परिवारलाई आर्थिक सहयोग प्रदान गरिसकिएको जनाएको छ ।

विभागले तोकेअनुसार सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग दिन थालिएको नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए। “संरक्षित क्षेत्र ऐतिहासिक सहर पनौतीमा विभागले तोकेअनुसारको घर बनाउनेलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग दिन थालेका हौँ”, अधिकारीले भन्नुभयो । उनका अनुसार विभागले तोकेअनुसारको पुरानो शैलीका घर बनाउँदा हाल महँगो पर्ने भएकाले पुरानो सहरको ऐतिहासिकता जोगाउन नगरले पनि सहयोग गर्न थालेको हो । रु ९९ हजारदेखि रु तीन लाख ७८ हजारसम्म प्रोत्साहन रकम प्रदान गरिएको नगरले जनाएको छ ।

प्रोत्साहन रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्नेले पनि पुरानै शैलीमा बनाउने प्रस्ताव गर्न थालेका छन् । हालसम्म ७१ परिवारले पुरानो शैलीका घर बनाउने भएकाले नगरबाट सहयोगका लागि प्रस्ताव पेस गरेका छन् ।

नमोबुद्ध सूचीकरण पहल

ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई पनि विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्वसम्पदामा सूचीकरणका लागि सरोकार पक्षबाट केही महिनाअघिदेखि पहल सुरु गरिएको हो ।

नमोबुद्ध नगरपालिका वडा नं ११ स्थित नमोबुद्धलाई विश्वसम्पदामा सूचीकृत गर्न नगरले यसअघि जनप्रतिनिधिलाई आग्रह गर्दै आएको थियो । “नमोबुद्धलाई विश्वसम्पदामा सूचीकृत गर्न पहल सुरु भइसक्यो, यसका लागि प्रक्रिया थालिएको छ”, नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले भने । उनका अनुसार सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटिएको छ ।

नगरले युनेस्कोका नेपाल प्रतिनिधिलाई औपचारिक रुपमा अवलोकन–भ्रमण गराउने योजना बनाएको छ । सूचीकरणका लागि प्रदेशस्तरबाट समेत पहल भएको वाग्मती प्रदेशका प्रदेशसभा सदस्य चन्द्र लामाले बताए। उनले भने, “सूचीकरणका लागि काम अघि बढिसक्यो, युनेस्कोका प्रतिनिधिलाई अवलोकन गराउने योजना बनाएका छौँ ।” उनका अनुसार वातावरण सहज भए आउँदो पुसमा युनेस्कोसहित सरोकार पक्षद्वारा नमोबुद्धको औपचारिक अवलोकन–भ्रमण हुनेछ । पर्यटकीयस्थल नमोबुद्धलाई विशेषगरी बौद्ध धर्मालम्बीको तीर्थस्थलका रूपमा समेत लिइने गरिन्छ ।

शाक्यमुनि गौतम बुद्ध पूर्वजन्ममा ‘राजकुमार’ रहेको र बोधिसत्त्व उनले आफ्नो देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थलका रूपमा नमोबुद्धलाई मानिन्छ । गौतम बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको पाइन्छ । किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा पूजार्चना र दीप प्रज्ज्वलन गर्न बौद्ध धर्मालम्बीको निकै ठूलो भिड लाग्ने गरेको छ । हाल उक्त स्थानमा गौतम बुद्धका मूर्तिसहित गुम्बा र चैत्य छन् । गुम्बामा बौद्ध पाठशालासमेत रहेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय