२ बैशाख २०७९
काठमाडौं ।
नेपाली कांग्रेसले चुनावीसभा सञ्चालनको मापदण्ड बनाएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि आयोजना गरिने सभा सञ्चालहरूका लागि मापदण्ड तय गरेको हो ।
बैठकको निर्णयअनुसार पालिका स्तरमा बढीमा दुई घण्टामात्र चुनावी सभा गर्न पाइने भएको छ । यस्तै, वडा र टोल स्तरमा बढीमा एक घण्टामात्र चुनावी सभा गर्न समितिले तल्ला तहलाई निर्देशन दिएको छ ।
यस्तै बैठकले आसनग्रहणको मापदण्ड पनि तय गरेको छ । जसअनुसार गठबन्धन भएको ठाउँमा गठबन्धनमा रहेका दलका एक एक जनालाई आसनग्रहण अनिवार्य गरिएको छ ।
यस्तै, सभापति, प्रमुख अतिथि वा प्रमुख वक्ता, पदीय मर्यादा बमोजिम पार्टीका नेताहरूलाई सामूहिक र उमेदवारहरूलाई आसनग्रहण गराउन निर्देशन बैठकको छ ।
मापदण्डले चुनावी सभा र प्रचारप्रसारका कार्यक्रम चुस्त र छरितो हुनुपर्ने भनेको छ ।