२ वैशाख २०७९
काठमाडौं ।
सरकारले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूएसआईडी) ले दिने करिब ८० अर्बको अनुदान सहायता रकम स्वीकार गरेको छ । सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ६ सय ५९ मिलियन डलर अर्थात ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
गत चैत्र ३० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
त्यसैगरी सरकारले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको छ । यो एमससीसी बाहेकको छुट्टै अनुदान सहयोग हो। अमेरिकाले एमसीसी अन्तरगत करिब ६० अर्बको अनुदान सहायता दिन लागेको छ ।
वैदेशिक मुद्राको सञ्चितिमा दबाब परेका बेला यो सहयोगले देशको अर्थतन्त्रमा केही सहज हुने विश्वास लिइएको छ ।
त्यसैगरी मन्त्रिपरिषद्ले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको झन्डै दुई सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवनलगायतका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने र कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताए । त्यस्तै राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापारको राजीनामा स्वीकृत गर्ने पनि मन्त्रिपरिषद् बैठकको निर्णय रहेको छ ।