२८ चैत्र २०७८
काठमाडौं ।
निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता एवं सांसद डा. शशांका कोइरालालाई स्पष्टिकरण सोधेको छ । चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर कांग्रेसका पूर्वमहामन्त्री कोइरालासँग आयोगले जवाफ मागेको हो ।
कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए ।
२०७४ सालको संघीय निर्वाचनमा प्रतिनिधिसभा सदस्यले अधिकतम् २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था थियो । डा. कोइारालाले आफूले २१ लाख ७५ हजार रुपैयाँ खर्च गरेको भन्दै आयोगमा विवरण बुझाएका थिए ।
सोही विषयमा आयोगलले डा. कोइरालालाई सात दिनभित्र उपयुक्त र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएको छ ।
यसैगरी निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई पनि स्पष्टीकरण सोधेको छ ।
गएको शनिवार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आयोगमा परेपछि तीन दिनभित्र जवाफ दिन भन्दै आयोगले पत्र पठाएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
सोमबार गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले आचारसंहिता उल्लंघनको सन्दर्भमा के कसो भएको हो तीन दिनभित्र आधार प्रमाणसहित चित्तबुझ्दो जवाफ माग गरिएको जानकारी दिए ।