२३ चैत्र २०७८
काठमाडौं ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ ।
बुधवार समितिको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग छलफल गर्दै तत्काल सुपारीको आयात रोक्न निर्देशन दिएको हो ।
समितिका सभापति विमलप्रसाद श्रीवास्तवले दाङ, भैरहवा, नेपालगञ्जलगायतका जिल्लामा अनुगमनका लागि जान लागिएको भन्दै तत्काल आयात अनुमति रोक्न निर्देशन दिएका हुन । देशको अर्थतन्त्र कमजोर भएको र विदेशी मुद्राको सञ्चिति न्यून रहेको बेला यो वस्तुको आयात जरुरी छैन भन्ने निष्कर्षमा समिति पुगेको उनको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको फागुन २६ गते राजपत्रमा सूचना प्रकाशन गरेर औद्योगिक प्रयोजनका लागि सुपारी, मरिचलगायतका वस्तुको आयात अनुमति खुला गरेको थियो । राजपत्रमा नै सूचना प्रकाशन भएपछि सुपारीलगायत वस्तुको आयातका लागि उद्योग विभागमा अहिलेसम्म ४४ वटा आवेदन दर्ता भएका छन् ।
उद्योग विभागका महानिर्देशक राजचन्द्र तिवारीले अहिलेसम्म ४४ वटा उद्योगले सुपारी आयातका लागि अनुमति मागेको जानकारी दिए । अनुमति पाएका मध्येबाट विभागले ६ वटा उद्योगलाई सुपारी आयातको अनुमति दिन वाणिज्य विभागलाई पत्राचार गरेको थियो ।