२० चैत्र २०७८
काठमाडौं ।
ट्याङ्कर चालकहरुसँग सहमति भएसँगै पम्पहरुलाई थानकोट डिपोबाट पेट्रोलियम पदार्थ पठाउन थालिएको छ ।
नेपाल आयल निगम र पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर चालकबीचको वार्ता सहमतिमा टुङ्गिएकाले डिपोबाट तेल उठाउन सुरु भएको निगमले जनाएको हो ।
निगम र पेट्रोलियम व्यवसायीबीच हिजो शनिवार राति सहमति भए पनि आज आइतवार चालकहरूले विभिन्न माग राख्दै तेल लोड/ अनलोड गर्न नमानेपछि पम्पहरूमा तेल पुगेको थिएन । ट्याङ्कर चालकहरूले केही सेवा, सुविधा माग गरेका र बिस्तारै पूरा गर्ने सहमति भएको निगमले जनाएको छ ।
अहिले पनि काठमाण्डौका केही पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ । पेट्रोलियम पदार्थको अभाव हुने हो कि भन्ने डरले बिहानैदेखि पेट्रोल पम्पमा उपभोक्ता लाइन बस्न पुगेका हुन् । तर नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको अभाव नभएकाले लाइनमा नबस्न आग्रह गरेको छ ।
पेट्रोलियम पदार्थको प्राविधिक चुहावट/ नोक्सानी हुँदा चर्को जरिवाना तिर्नुपरेको, समयमै कमिसन नपाउने गरेको लगायत माग राख्दै चालकहरुले ढुवानी बन्द गरेका थिए । जसले गर्दा डिपोबाट पम्पसम्म तेल ढुवानी हुन सकेको थिए ।
आइतबार अपह्रान्हपख ढुवानी व्यवसायी, ट्यांकर चालक र आयल निगमका प्रतिनिधिबीच भएको वार्ता सहमतिमा टुंगिएपछि चालकहरुले इन्धन ढुवानी गर्न थालेको थानकोट डिपोका प्रमुख शैलेन्द्र भुसालले जानकारी दिए ।