१७ चैत्र २०७८
काठमाडौं ।
सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
सिफारिसमा वरिष्ठता र कार्यक्षमतालाई नहेरिएको भन्दै सिफारिसमा नपरेका सिनियर डीआईजीहरुले लोक सेवा आयोगमा उजुरी दिएका थिए ।
आयोगले हिजो बुधबार बढुवाको सिफारिसलाई सदर गरेपछि मन्त्रिपरिषद बैठकले आज उनीहरुलाइए एआईजीमा बढुवाबारे निर्णय गरेको हो । बढुवा भएका मध्ये पन्त हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका हुन् ।
तीन जनालाई सरकारले एआईजीमा बढुवा गरेसँगै सिंह र धानुक पनि भावी प्रहरी महानिरीक्षकका लागि दाबेदार बनेका छन् ।यसअघि नै उनको ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा एआईजी बनिसकेका छन् ।
हालका आईजीपी थापाले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् ।
यस्तै, मन्त्रिपरिषद् बैठकले महिला हिंसा नियन्त्रण र तेजाब आक्रमणविरुद्धको अध्यादेश ल्याउने पनि निर्णय गरेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय हुँदा तेजाव आक्रमण र यौनहिंसा पीडितलाई कारवाही गर्न समस्या भएको थियो ।