१० चैत २०७८
काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलमा आवद्ध आफ्नो पक्षको भेला बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले परामर्श नगरी नेविसंघ र र तरुण दलको अध्यक्ष चयन गरेपछि शेखर पक्षले आफू पक्षका नेताहरुको भेला बोलाएको हो । तीन दिनभित्र नेविसंघ र तरुण दलको संयुक्त रुपमा राष्ट्रिय भेला गर्ने भनिएको छ ।
कार्यसम्पादन समितिले भ्रातृ संस्थाको नेतृत्व सभापतिले आपसी परामर्शमा चयन गर्ने निर्णय भए पनि देउवाले त्यसलाई लत्याएको शेखर पक्षको आरोप छ ।
सत्तारूढ नेपाली कांग्रेसभित्र महत्वपूर्ण दुईवटा भ्रातृ संगठनको तदर्थ समिति गठन भएसँगै आन्तरिक असन्तुष्टि बढेको छ । सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समिति गठन गर्दा एकलौटी गरेको भन्दै शेखर कोइराला समूह रुष्ट बनेको छ ।
बुधबार सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।
देउवाले आफूसँग सल्लाह नै नगरी दुई भ्रातृ संस्थाको नेतृत्व तोकेपछि नेता कोइरालाले बिहीबार आगामी योजनाबारे छलफल गरेको हो ।
छलफलमा नेविसंघ, तरुण दल, महिला संघ, आदिवासी जनजाति संघलगायतका भ्रातृ संस्थाहरूको पूर्व पदाधीकारीहरू सहभागी थिए । नेता कोइरालाले उनीहरूसँग कसरी अघि बढ्दा उपयुक्त हुन्छ भनेर राय मागेको छलफलमा सहभागी नेता गुरु घिमिरेले जानकारी दिए ।
नेविसंघको अध्यक्ष नियुक्तिको विरोधमा शेखर पक्षका कार्यकर्ताले विरोध प्रदर्शन गर्ने भएका छन् ।