७ फागुन २०७८, काठमाडौं ।
ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह एको ग्रुप टुमा नेपाल शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जित निकाल्दै नेपाल तालिकाको शीर्ष स्थानमा पुगेको हो ।
दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनको फराकिलो अन्तरले हराएको नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । २ खेलबाट नेपालको ४ अंक भएको छ । क्यानडा २ अंकमा तालिकाको दोस्रो र ओमान तेस्रो स्थानमा रहेका छन् ।
तालिकामा नेपालको नेटरनरेट ४ दशमलव ३७५ रहेको छ । २ अंकमा तालिकाको दोस्रो स्थानमा रहेको क्यानडाको नेटरनरेट २ दशमलव ५१ रहेको छ । समान २ अंकसहित तेस्रो स्थानमा रहेको घरेलु टोली ओमानको नेट रनरेट भने ऋणात्मक रहेको छ । उसको रनरेट –शुन्य दशमलव ५६ रहेको छ ।
आजको खेलपछि सेमिफाइनल पुग्ने टोलीको टुंगो सोमबारको खेलपछि मात्र लाग्ने भएको छ । शीर्ष स्थानको नेपालको सेमिफाइनल पुग्ने संभावना बलियो बनेको छ भने ओमान र क्यानडाको संभावना पनि समान रहेको छ । समूहचरणको अन्तिम खेलमा सोमबार नेपाल र क्यानडा तथा ओमान र फिलिपिन्स प्रतिस्पर्धा गर्नेछन् ।