२ फागुन २०७८, काठमाडौँ ।
सभामुख अग्नि सापकोटाले एमसीसीका सम्बन्धमा आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको बताएका छन् । सोमबार सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुबीच एमसीसी र संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको थियो ।
बैठकपछि सभामुख सापकोटाले एमसीसी र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल भएको बताए । उनले दलहरुबीच सहमति भए आफूले एमसीसी अघि बढ्नबाट नरोक्ने भन्दै आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको प्रतिक्रिया दिए । ‘एमसीसीका सम्बन्धमा म अम्पायरमात्रै हो । दलहरू सहमत भए म रोक्दिन’, सभामुख सापकोटाले भने, ‘आजको बैठक विशेष भएको छ । संसद्को अवरोध हटाउने विषयमा नेताहरूले पहल गर्नुहुनेछ ।’
उनले दलका नेताहरूले संसद्को अवरोध हटाउन प्रतिपक्षलाई पनि सहमतिमा ल्याउने विश्वास व्यक्त गर्दै अव संसद् सुचारु हुनेमा आफू विश्वस्त रहेको बताए । ‘राजनीतिक दलका नेताहरूले प्रतिपक्ष दललाई सहमतिमा ल्याउनु हुन्छ र शीर्ष नेताहरूले संसद् सुचारु गर्न लागि पहल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु’सापकोटाको भनाइ छ ।
सिंहदरबारमा बसेको बैठकमा एमालेबाहेक संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू सहभागी थिए ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू सहभागी रहेका थिए ।