नेपाली कांग्रेस काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं. १ को पहिलो बैठक बुधबार सम्पन्न भएको छ । बैठकले आगामी बैशाख ३० गतेका लागि निर्धारण गरिएको स्थानीय तहको निर्वाचनमा आफ्नो कमिटि र मातहतका कमिटिलाई क्रियाशिल बनाउने निर्णय गरेको छ ।
सरकारले घोषणा गरेको स्थानीय तहको चुनावमा अधिकतम वडा र पालिकामा विजय सुनिश्चित गराउनका लागि सबैलाई आफ्नो वडामा सक्रिय रहन निर्देशन समेत दिएको छ । बैठकले मातहतका दुईवटा प्रदेशसभा क्षेत्र र सबै पालिका सभापतिलाई परिपत्र गर्दै चुनाव केन्द्रित कार्यक्रम तय गर्न निर्देशन दिएको छ । विधानमा भएको व्यवस्था अनुसार सम्पूर्ण वडाहरुमा टोल कमिटि गठन गर्नका लागि फागुन ७ गतेसम्मको समयसीमा तोकेको छ । फागुन १ गतेदेखि ७ गतेसम्म साताव्यापी संगठन विस्तारको काम आफ्नो क्षेत्रमा सक्रियताका साथ लाग्ने भएको हो । साथै जिल्ला कार्यसमिति काभ्रेले यही माघ २९ गते आयोजना गर्न लागेको १३५ वडा सभापति, १३ पालिका सभापति, सबै प्रदेश र संघीय कमिटिको प्रशिक्षण कार्यक्रममा सक्रिय र अनिवार्य सहभागिता जनाउन निर्देशन दिएको छ ।
साथै बैठकले आफ्नो कार्यालय स्थापना र सञ्चालनका लागि प्रतिनिधिसभा क्षेत्र नं. १ को कार्यसमितिका सदस्यहरुबाट मासिक ३००, पदाधिकारीबाट मासिक ५०० र सभापतिबाट मासिक १ हजार लेबि संकलन गर्ने भएको छ । प्रतिनिधिसभा क्षेत्रको निर्माणाधिन भवनमा कार्यलय सञ्चालन गरिहाल्ने अवस्था नरहेकाले चुनाव केन्द्रित गतिविधि सञ्चालनका लागि भकुन्डेवसीमा कार्यालय व्यवस्थापन गर्न लागेको क्षेत्रिय सभापति दिनेश लामाले बताउनुभयो । बैठकले प्रतिनिधिसभा क्षेत्रिय कार्यसमितिको अधिवेशन सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण क्रियाशिल सदस्य, क्षेत्रिय प्रतिनिधि, नेता तथा प्रतिस्पर्धीहरुलाई समेत धन्यवाद ज्ञापन गरेको छ । समितिले मनोनित गर्नुपर्ने २० प्रतिशत सदस्य र निर्वाचित सदस्यहरुमध्येबाट निर्वाचित गरिने एकजना कोषाध्यक्षका बारेमा भने निर्णय लिन सकेन ।