२६ माघ २०७८
काठमाण्डौ ।
कोरोना सङ्क्रमणका कारण नेपालमा थप १४ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार आठ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्ला केही दिनयता नयाँ सङ्क्रमित थपिने क्रम घटे पनि मृत्यु हुनेको सङ्ख्या भने बढिरहेको छ । यस्तै २४ घण्टामा थप दुई हजार चार सय एक जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी १६ हजार तीन सय ५६ जनाको नमुना परीक्षण गर्दा २४ सय एक जनामा सङ्क्रमण देखिएको हो ।
यही अवधिमा सात हजार सात सय ७७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख २८ हजार तीन सय ६९ पुगेको छ । अहिले ३० हजार दुई सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै २४ घन्टामा दुई लाख ४६ हजार सात सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार एक सय जनामध्ये ७३ दशमलव पाँच प्रतिशत अर्थात् एक करोड ४६ लाख ३५ हजार जनाले पूर्ण मात्रा खोप लगाएका छन् । ८८ दशमलव नौ प्रतिशत अर्थात् एक करोड ७७ लाख १६ हजार जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।