१५ माघ २०७८, काठमाडौं
महानगरीय अपराध महाशाखाले भन्सार छलीको मदिरासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्र पोखरेल, शैलेश पन्त, रविन पाख्रिन र नारायणप्रसाद घिमिरे रहेको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।
काठमाडौंको सीतापाइला र चाबहिलबाट उनीहरुलाई पक्राउ गरिएको पंगेनीले बताए । उनका अनुसार ती स्थानबाट २ सय ९० कार्टुन रेड लेबल पनि बरामद गरिएको छ । ‘स्टिकर नभएकाले राजस्व छली भएको आशंका गरिएको हो,’ एसपी पंगेनीले भने, ‘मदिरा सक्कली हो की नक्कली हो भन्ने परीक्षण हुन नै बाँकी छ ।’ उनका अनुसार पक्राउ परेकाहरु सबै सप्लायर्स हुन् ।