१४ माघ २०७८, काठमाडौं
राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङ लिम्बूले मरिसससँगको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् ।
मरिसससँगको पहिलो मैत्रीपूर्ण खेलअघि आज शुक्रवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान लिम्बूले मैत्रीपूर्ण खेल भए पनि आफ्नो टोलीले जितकै लागि खेल्ने भन्दै त्यस खेलबाट केही नयाँ कुरा सिक्ने बताए । ‘हामी इतिहासमै पहिलो पटक अफ्रिकी देशसँग खेल्दैछौँ, हाम्रो लागि यो छुट्टै अनुभव हुनेछ’, उनले भने ।
नेपालले अफ्रिकी देश मरिसससँग पहिलो पटक दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले मरिसससँगको पहिलो खेल भोलि शनिवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा खेल्नेछ ।
त्यसैगरी नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालले सबै तयारी पूरा गरिसकेको भन्दै नेपालले पहिलाको गल्तीलाई सुधारेर प्रदर्शन गर्ने बताए । मरिससका प्रशिक्षक टोनी फ्रास्वाले धेरैपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको भन्दै नेपालसँगको खेलमा राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने बताए ।
नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल भने आउँदो मङ्गलवार हुनेछ ।