१२ माघ २०७८, काठमाडौं
भन्सार बिन्दुमा भेहिकल्स स्क्यानर प्रयोग सुरु गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। ७० औं भन्सार दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले भन्सार महसुल भुक्तानीका लागि इ-पेमेन्ट सेवाको शुभारम्भ गरे।
भेहिकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उनले उल्लेख गरे। ‘हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौं, उनले भने, ‘कुन मालवस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ।’
सबै वस्तु आवश्यक पर्ने मात्र नआउने भन्दै उनले नेपाल र छिमेकी राष्ट्रहरूको सुरक्षामा जोखिम हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्वपूर्ण हुने उल्लेख गरे। तर त्यस्ता उपकरण सरकारले ल्याउन के प्रक्रिया अगाडि बढाएको छ भन्ने बारे भने उनले जानकारी दिएनन्।
भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने मन्त्री शर्माले बताए। अब सेवाग्राहीले भन्सारलाई बुझाउनुपर्ने दस्तुर डिजिटल प्रविधिबाट दाखिला गर्न मिल्ने जानकारी कार्यक्रममा दिइएको थियो।
समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिए।
निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्यांकन सुधार गर्नुपर्ने माग गरे । हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने चलन छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नारा छ।
नाराअनुसार भन्सारमा इ-पेमेन्ट सेवा सुरु भएको घोषणा गरिएको हो।