१२ माघ २०७८, काठमाडौं
काठमाडौं जिल्ला नेपालका ७७ वटै जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएको जिल्लामा परेको छ । नेपालको जनगणना २०७८ अनुसार काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ ।
त्यस्तै सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या ५ हजार ६४५ रहेको छ । धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लामा रहेका छन् भने कम जनसंख्या भएका जिल्लाहरूमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन् ।
सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज नगरपालिका परेका छन् भने सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालिगुराँस नगरपालिका र जिरी नगरपालिका रहेको तथ्यांक विभागले जनाएको छ ।
धेरै जनसंख्या भएको काठमाडौं नगरपालिकाको जनसंख्या ८ लाख ६५ हजार ९०६ रहेको छ भने कम जनसंख्या रहेको ठुलिभेरी नगरपालिकामा १० हजार १८७ रहेको छ । २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ वटा रहेको छ भने १ लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको बताइएको छ ।
नेपालको जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर पुगेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ ।